काठमाडौं । जेनजी आन्दोलन नियन्त्रण बाहिर गएको छ । राज्यका सबै निकाय ध्वस्त भएका छन् । आन्दोलनकारीले जसलाई चाह्यो त्यसलाई पिट्ने, उनीहरूका घरमा आगो लगाउने, सरकारी निकाय तोडफोड र आगजनी भइरहेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसकेका छन् । उनी प्रधानमन्त्रीको सरकारी निवास छाडेर भागेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवामाथि रगताम्मे हुनेगरी कुटपिट गर्दै निवासमा आगो लगाइएको छ । राज्यका सुरक्षा अंगले हात उठाएर हिँडेपछि आन्दोलन उग्र बनेको हो । कसैको नियन्त्रणमा छैन ।
प्रदर्शनकारीले सहकारी ठगीमा नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई निकालेका छन् । प्रदर्शनकारीाके हमलाबाट बच्न सुरक्षाकर्मीले हात उठाएका हुन् ।
प्रधानमन्त्री केपी ओलीको निवास आगो लगाइयो । कांग्रेस महामन्त्री गगन थापादेखि माओवादी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपालको घर आगो लगाइएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नीलाई जिउँदै जलाइएको छ । न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका सबै आन्दोलनकारीको कब्जामा छन् ।








