काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी अगुवा र सरकारबिच बिहीबार शीतलनिवासमा वार्ता भयो । प्रधानमन्त्री र केही मन्त्रीहरू शीतलनिवासमा उपस्थित थिए ।

केही दिनअघि तय भएको वार्ता स्थगित भएकोमा बिहीबार निरन्तरता दिइएको हो। वार्तामा जेनजी आन्दोलनका एजेन्डा र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले चुनाव लोकतन्त्रको सौन्दर्य भएकाले जेनजीलाई चुनावमा भाग लिन आग्रह गरेका थिए ।

ADVERTISEMENT

शीतल निवासमा जेनजी मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।

ADVERTISEMENT

तर एकजना जेनजी प्रतिनिधि हाफ टिसर्ट लगाएर बैठकमा पुगेका थिए । नीलो टीसर्ट लगाएका जेनजी प्रतिनिधिको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । विगतमा राष्ट्रपति कार्यालयमा हुने भेटघाट र कार्यक्रममा औपचारिक पोसाक लगाएर आउन भनिएको हुन्थ्यो । तर जेनजी आन्दोलनपछि ती सबै मान्यता भंग भएका छन् । चप्पल, हाफकट्टु, हाफ टिसर्ट लगाएर दिनहुँ जेनजीका अगुवा राष्ट्रपति र प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन् । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनामी हुँदै गएको छ ।

केही महिनाअघि ह्वाइटहाउस पुगेका युक्रेनका राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीले कोट नलगाई आएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै रिसाएका थिए । पछि वार्ता नै भाँडिएको थियो ।

ADVERTISEMENT

अहिले सामाजिक सञ्जालमा जेनजी प्रतिनिधिको यो हेलभेक्र्याइँलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ । राष्ट्रपति कार्यालयको मर्यादा राख्नुपर्ने आवाज उठेको छ ।