काठमाडौं।  सोमबारको जेन–जी आन्दोलनपछि देशव्यापी तनाव चर्कँदै गएपछि उच्च पदस्थ नेताहरूको ज्यानमाथि गम्भीर सुरक्षा चुनौती सिर्जना भएको छ। सुरक्षा स्रोतका अनुसार, बालुवाटारसहित देशका विभिन्न स्थानमा नेताहरूको सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालित छन्।

भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा पटकपटक सुरक्षा हेलिकोप्टर अवतरण गरिएको छ र केही नेताहरूलाई उद्दार गरेर सुरक्षित स्थानमा लगिएको छ। सुरक्षा अधिकृतहरूले भने, उनीहरूलाई कहाँ लगिएको भन्ने विवरण खुलाइएको छैन।

ADVERTISEMENT

स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी, प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा तनावपूर्ण स्थिति, गृह मन्त्रीको कालंकीस्थित घरमा तोडफोड र आगजनी, साथै सांसद गगन थापाको घरमा समेत तोडफोड र आगजनी भएको पुष्टि भएको छ।

ADVERTISEMENT

उच्च सुरक्षा स्रोतका अनुसार, नेताहरूलाई सम्भावित रूपमा जिल्ला बाहिरका सैनिक गणहरूमा सार्न सक्ने तयारी भइरहेको छ। बालुवाटारसहित अन्य महत्वपूर्ण क्षेत्रमा सैनिक र निजी हेलिकोप्टरमार्फत पटकपटक अवतरण भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले यसैबीच साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्। तर, त्यसअघि नै राजधानीको परिस्थिति नियन्त्रणबाहिर पुगेको छ।

सोमबारको जेन–जी आन्दोलनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका छन् भने २ सयभन्दा बढी घाइते भएका छन्। प्रदर्शनपछि उत्पन्न तनाव, आगजनी र तोडफोडका घटनाले देशव्यापी सुरक्षा व्यवस्थामा चुनौती थपेको छ।