काठमाडौं । अहिले आफूलाई नयाँ र वैकल्पिक भन्ने दलहरूले देश सकियो, बर्बाद भयो, केही विकास नै भएन, पुराना दलले खाए सिध्याए भनेर प्रचार गरिरहेका छन् । आफूले चुनाव जिते एकैपटक कायापलट गर्ने भ्रम पनि बाँडिरहेका छन् । तर देशको अहिलेको वास्तविक अवस्था के हो भनेर कसैले पनि तथ्यांक प्रस्तुत गर्न सकेका छैनन् ।
बुधबार बिहान डडेल्धुरा पुग्नेवित्तिकै रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले ‘सुदूर अब दूर नाई’ भनेर स्टाटस लेखे । त्यो स्टाटसलाई हुरुरु लाइक र कमेन्टको वर्षा भयो । तर कसैले पनि सुदूरलाई काठमाडौंबाट दूर नबनाउन त्यो क्षेत्रका नेताले के के काम गरे भनेर लेखेनन् । आठ करोडको ल्यान्डर रोभर गाडीमा सरर त्यो ठाउँमा सडकमार्फत केही घन्टामा पुग्न सकिने योगदान पुराना दलका नेताले नै गरेका हुन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा नेपालमा विकासका वर्तमान सूचकबारे तथ्यांकसहित लेखेका छन् । जसलाई लिएर अहिले व्यापक बहस भइरहेको छ । एमालेलगायतका दलका नेताले ज्ञवालीको यो तथ्यांकको सामाजिक सञ्जालमा व्यापक प्रचार प्रसार गरिरहेका छन् । तर, रास्वपा, राप्रपा समर्थकले भने ज्ञवालीलाई आमचकारी गाली गरेका छन् । यसले उनीहरू तथ्यांकमा विश्वास गर्न नचाहेको भन्ने देखाउँछ ।
ज्ञवालीले लेखेका छन्, ‘देश सकियो, बर्बाद भयो, प्रजातन्त्र आएपछि त सबै सकियो भनेर निराशा मात्रै फैलाउने अनि सोही निराशा मात्र बेचेर आफ्नो स्वार्थको रोटी सेक्न खोज्नेहरुले तल प्रस्तुत सूचकहरुलाई गलत प्रमाणित गर्नुपर्ने हुन्छ होला ।’ उनले २०४७ सालमा देशमा प्रजातन्त्र आएदेखि वर्तमान अवस्थामा आर्थिक अवस्था कस्तो छ भनेर तथ्यांक प्रस्तुत गरेका छन् ।
ज्ञवालीका अनुसार यो ३५ वर्षमा विद्युत उत्पादन ३५ सय मेगावाट पुगेको, गरिबीको रेखामुनिको दर २० प्रतिशतमा झरेको, प्रतिव्यक्ति आय १५ सय अमेरिकी डलर पुगेको, मानव विकास सूचकांक ०.६०१ रहेको, राष्ट्रिय बजेट २० खर्ब पुगेको, सडक सञ्जाल ३४ हजार किमी विस्तार भएको छ ।
यस्तै, मुलुकको साक्षरता दर ७६ प्रतिशत रहेको, स्वास्थ्य चौकीको संख्या ७८ सय रहेको, बाल मृत्युदर १५ प्रतिशतमा झरेको, वैदेशिक लगानी २१ अर्ब अमेरिकी डलर पुगेको, सेयर बजार पुँजीकरण ५० खर्ब रहेको, कूल गाहस्र्थ उत्पादन ६.१०७.२२ अर्ब पुगेको, औसत आयु ७२ वर्ष पुगेकोलगायत उल्लेख गरेका छन् । ज्ञवालीले प्रस्तुत गरेकाे तथ्यांक नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयकाे तथ्यांकसँग मिल्दाेजुल्दाे देखिन्छ ।
सिइओ ज्ञवालीले सुशासनमा समस्या रहेकाले जनअपेक्षा पूरा नभएको उल्लेख गरेका छन् । ‘यी सूचकहरु अझै राम्रा हुन सक्थे होलान्, तर सबै सकिएको पक्कै होइन । मिडिया, समाज, अभियन्ता, नेता सबैले नकारात्मक कुरा मात्र खोतलीरहे । आफू राम्रो हुन मेहनत गर्न, देशका लागी योगदान गर्ने होइन, अरुका कमजोरी उजागर गरे वा मिलाएर गाली गर्न जान्ने भए पुग्ने भयो । यही कुरा सोसियल मिडियामा भाइरल बनाइयो । सुधार्नुपर्ने कुरा पक्कै धेरै तर हाम्रो देश न सक्किएको छ न त सबैभन्दा कमजोर देश हो ।’








