काठमाडौं — नवयुवाहरूको आन्दोलनमा प्रहरीद्वारा गरिएको चर्को बल प्रयोगबारे मौन बसेको र केवल कर्मकाण्डी विज्ञप्ति जारी गरेको भन्दै व्यापक आलोचना भएपछि राष्ट्रिय मानव अधिकार आयोग (NHRC) आकस्मिक बैठकमा बसेको छ।
आन्दोलनका क्रममा १८ जना युवाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भइरहँदा आयोगले आगजनी र तोडफोडपछि सुरक्षाकर्मीले ‘अत्यधिक बल प्रयोग गरेको’ भन्ने सामान्य टिप्पणी मात्रै गर्दै औपचारिकता निभाएको थियो। यसअघि आयोगले सोमबारको प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै आन्दोलनकारीलाई संयमित रहन आग्रह गरे पनि सरकारको पक्षपोषण गरेको भनी आलोचना भएको थियो।
स्रोतका अनुसार, चौतर्फी आलोचना चुलिएपछि आयोगका अध्यक्ष तपबहादुर मगरले आज बिहान आकस्मिक रूपमा पदाधिकारीहरूको बैठक बोलाएका छन्। बैठकमा हालका घटनाक्रम र आयोगको भूमिकाबारे छलफल हुने जनाइएको छ।
आलोचकहरूले गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहनु अत्यन्तै चिन्ताजनक रहेको बताएका छन्। साथै, आयोगमा केपी ओलीको शासनकालमा नियुक्त पदाधिकारीहरूको बाहुल्य भएकाले संस्थाको निष्पक्षता र स्वतन्त्रतामाथि शंका उत्पन्न भएको समेत टिप्पणी भइरहेको छ।




