काठमाडौँ । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा ४० हजारदेखि ४२ हजारसम्म खसीबोका र च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ। गत वर्ष दसैँमा उपत्यकामा करिब ५० हजारदेखि ५५ हजारसम्म खसीबोका खपत भएको थियो। काठमाडौँ चौपाया खरिदबिक्री सङ्घका अनुसार यस वर्ष बाढीपहिरोका कारण सडक अवरुद्ध हुनु, खसीबोका ल्याउन कठिन हुनु र मूल्य बढ्नुका कारण खपत घट्ने अनुमान गरिएको हो।

सङ्घका अध्यक्ष जीवनराज खड्काका अनुसार पछिल्लो समय आएको अविरल वर्षा र विभिन्न स्थानमा सडक भत्किँदा गाउँबाट उपत्यकामा खसीबोका ल्याउन समस्या भएको छ। उहाँका अनुसार एक वर्षको अवधिमा जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी करिब २०० रुपैयाँले बढेको छ।

ADVERTISEMENT

सङ्घका अनुसार गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी ६०० देखि ६५० रुपैयाँ रहेकोमा यस वर्ष बढेर ८०० देखि ८५० रुपैयाँ पुगेको छ। व्यवसायीका अनुसार मूल्य बढ्दा उपभोक्ताको खपत पनि घट्ने गर्छ।

ADVERTISEMENT

नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले पनि बाढीपहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले गाउँबाट खसीबोका ल्याउन कठिन हुने बताउनुभयो। उहाँले जिल्ला तथा स्थानीय तहमा खरिद–सङ्कलन केन्द्र स्थापना गरी त्यसमार्फत उपत्यकामा खसीबोका ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउनुभयो।

उहाँका अनुसार बजारमा खसीबोकाको मूल्य बढे पनि किसानले उचित मूल्य पाउन नसक्दा व्यावसायिक बाख्रापालनबाट पलायन हुने अवस्था देखिएको छ।दसैँमा घटस्थापनादेखि उपत्यकामा ठूलो सङ्ख्यामा खसीबोका भित्रिने गरेका छन्। निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली र कञ्चनपुरलगायत जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा बिक्री गर्ने गरेका छन्।

ADVERTISEMENT

खाद्य कम्पनीले यसपालि खसीबोका नबेच्ने

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। यसअघि चाडपर्वका बेला निजी व्यवसायीले मनपरी मूल्य लिन नपाऊन् र बजार मूल्य नियन्त्रणमा सहयोग पुगोस् भनेर कम्पनीले बजार मूल्यभन्दा प्रतिकेजी १० रुपैयाँ सस्तोमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो। तर सडक अवरोधका कारण खसीबोकाको तौल घट्ने तथा मर्ने जोखिम र खरिदमा निरन्तर घाटा भएको भन्दै कम्पनीले यस वर्ष कारोबार नगर्ने जनाएको छ। कम्पनीले बजारमा हस्तक्षेप नगर्दा दसैँमा खसीबोकाको मूल्य थप बढ्न सक्ने र त्यसको प्रभाव उपभोक्तामा पर्न सक्ने देखिएको छ।