काठमाडौं । पुराना दलहरूले संस्थागत गरेको भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी (Gen Z) को नेतृत्वमा राजधानीमा आयोजित प्रदर्शन आज झडपमा परिणत भएको छ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा विद्यार्थीहरूको व्यापक सहभागिता थियो। नाराबाजीसहित अगाडि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेका थिए। सो क्रममा तिनकुनेतर्फबाट अघि बढेको अर्को टोली समेत संसद भवनको मुख्य गेटसम्म पुग्न सफल भएको थियो।
संसद भवन अगाडि ठूलो भिड जमेसँगै निषेधाज्ञा तोड्दै अगाडि बढ्ने प्रयास भएपछि प्रहरीले भीड नियन्त्रणका लागि असुर ग्यास प्रहार गरेको हो। असुर ग्यास प्रहारपछि प्रदर्शनकारीहरू तितर-बितर भएका छन् भने केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच धक्का-मुक्की भएको बताइएको छ।
प्रदर्शनकारीहरूले देशमा मौलाएको भ्रष्टाचार, कुशासन र राजनीतिक दलहरूको असफल नेतृत्वविरुद्ध कडा आवाज उठाएका छन्। यस क्रममा बानेश्वर क्षेत्रमा लामो समय सडक आवागमन प्रभावित भएको थियो।





