काठमाडौं। नेपाल सरकारले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू गर्ने भएको छ।
अध्यागमन विभागका अनुसार यो प्रणालीको उद्देश्य नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको बसोबास र गतिविधि व्यवस्थित रूपमा अभिलेख गर्ने, आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्ने र पर्यटन क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित बनाउन सहयोग गर्नु हो।
विभागले जनाएको छ, “यो प्रणाली कार्यान्वयनले राष्ट्रिय सुरक्षा, सुशासन, पर्यटन प्रबर्द्धन र वैदेशिक लगानी आकर्षणमा समेत योगदान पुर्याउनेछ।”
दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरूमा लागू गरिनेछ भने क्रमशः सबै होटल, गेष्ट हाउस र सार्वजनिक तथा निजी संस्थाहरूमा पनि विस्तार गरिने विभागले स्पष्ट पारेको छ।
यसका लागि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सम्पूर्ण सार्वजनिक र निजी संस्थाहरूलाई प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन अनुरोध गरिएको छ। दर्ता प्रक्रिया र प्रयोगकर्ता म्यानुअल विभागको वेबसाइट www.immigration.gov.np मा उपलब्ध छ।
साथै, प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि ७७ वटै जिल्लामा जिल्ला अनुगमन समिति गठन भइसकेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन गरिने विभागले जनाएको छ।





