फुङ्लिङ । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आसपासको क्षेत्रमा पर्यटक आगमन पुनः बढ्न थालेको छ। मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको हो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका अनुसार पछिल्लो एक महिनामा मात्रै १६५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्मलाई मुख्य पर्यटकीय याम मानिन्छ। वर्षमा दुई प्रमुख याम—चैतदेखि जेठ र असोजदेखि मङ्सिर—मा यहाँ बढी पर्यटक आउने गरेका छन्। गत वर्षको पहिलो याममा मात्रै करिब ७५० विदेशी पर्यटक पुगेको तथ्याङ्क रहेको छ।
कञ्चनजङ्घा आधार शिविरसम्म पुग्न दुई प्रमुख मार्ग प्रयोग हुँदै आएका छन्। एउटा पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर जाने स्थलमार्ग हो भने अर्को काठमाडौँबाट हवाईमार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाबाट जाने मार्ग हो।
पर्यटकलाई लक्षित गर्दै पदमार्गमा साना–ठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका छन्। फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब सात करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ। यसबाहेक ३,५०० देखि ४,५०० मिटर उचाइसम्मका क्षेत्रमा एक करोडभन्दा बढी लगानीका चार होटल सञ्चालनमा छन् भने अन्य होटलहरूमा पनि ८० लाख रुपैयाँभन्दा बढी लगानी गरिएको बताइएको छ।
सदरमुकाम फुङ्लिङ बजारमा समेत पर्यटक लक्षित ठूला होटलहरू विस्तार भइरहेका छन्। पर्यटक आगमन बढेसँगै स्थानीय होटल व्यवसायी तथा पर्यटनसँग आबद्ध समुदाय उत्साहित बनेका छन्।
यस क्षेत्रका स्थानीयको मुख्य आम्दानी स्रोत पर्यटन, होटल व्यवसाय र पशुपालन हो। घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश परिवार प्रत्यक्ष रूपमा पर्यटनमा निर्भर छन्। कतिपयले होटल सञ्चालन गरेर रोजगारी सिर्जना गरेका छन् भने अन्यले पर्यटक मार्गदर्शक तथा सहयोगीका रूपमा आयआर्जन गर्दै आएका छन्। कृषि सम्भावना सीमित भएकाले पछिल्लो समय युवापुस्ता पर्यटन क्षेत्रमा आकर्षित हुँदै गएको देखिन्छ।
इतिहासअनुसार सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको पहिलो सफल आरोहण गरिएको थियो। पहिले फुङ्लिङबाट पैदल यात्रा गर्दा करिब २४ दिन लाग्ने यो यात्रा अहिले छोटिएर ११ देखि १६ दिनभित्र दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ।
जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विट्जरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन र स्विडेनलगायत देशका पर्यटक यहाँ आउने गरेका छन्। साथै भारत र चीनबाट पनि केही संख्यामा पर्यटक भ्रमण तथा हिमाल आरोहणका लागि आउने गरेका छन्।






