मुस्ताङ । मुस्ताङमा प्रतिकूल हिउँदयामको बाबजुद पनि जनवरी महिनामा पर्यटकको सङ्ख्या वृद्धि भएको छ। मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक यहाँ भित्रिएका छन्।
एक्याप प्रमुख राजेश गुप्तका अनुसार यसमध्ये सार्क राष्ट्रका १० हजार ४५ र अन्य राष्ट्रका ७७७ विदेशी पर्यटक रहेका छन्। सन् २०२५ को जनवरीमा चार हजार ३४६ विदेशी पर्यटक भित्रिएका थिए, जसअनुसार यस वर्षमा ६ हजार ४७६ पर्यटकले वृद्धि भएको छ।

सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या सन् २०२५ को जनवरीको तीन हजार ८३० बाट सन् २०२६ को जनवरीमा ६ हजार २१५ पुगेको छ। अन्य राष्ट्रका पर्यटक ५१६ बाट ७७७ पुगेका छन्।

ADVERTISEMENT

सन् २०२५ मा मुस्ताङमा जनवरीदेखि डिसेम्बरसम्म १ लाख ६१ हजार १४२ विदेशी पर्यटक भित्रिएका थिए। विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन उल्लेख्य रहेको छ। बेनी–जोमसोम सडक मार्गको विकाससँगै विदेशी पर्यटकको संख्या बर्सेनि बढ्ने अनुमान गरिएको छ। सन् २०२६ मा दुई लाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ।

मुस्ताङमा हिउँदयामको प्रतिकूल मौसमका बाबजुद पर्यटकको आगमन बढ्दा पर्यटन व्यवसायी उत्साहित छन्। मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले वर्षभरि पर्यटकको आगमनले व्यवसायीहरूको आशा बढाएको बताए।

पुस महिनामा मुस्ताङको तापक्रम माथिल्लो क्षेत्रमा २० डिग्री र तल्लो क्षेत्रमा माइनस १२ डिग्रीसम्म झर्ने गरेको छ। चिसोले स्थानीय जनजीवनमा आंशिक प्रभाव पारेको भए पनि पर्यटकको आगमनमा बाधा बनेको छैन।