ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार दिनभरको वर्षापछि राति आएको बाढीका कारण सडक बगरमा परिणत भई यातायात पूर्ण रूपमा ठप्प बनेको हो।

लोकमार्ग अवरुद्ध हुँदा रुकुमपूर्वतर्फबाट काठमाडौं, पोखरा जाने सवारी साधन कालापैरामा रोकिएका छन्। बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना सवारी साधन कानाबगरमै अड्किएका छन्।

ADVERTISEMENT

निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टीकानिधि पौडेलका अनुसार निरन्तर वर्षाले विभिन्न स्थानमा पहिरो झर्ने, रुख ढल्ने र माथिबाट लेदो बग्ने क्रम बढेकाले सडक सञ्चालनमा कठिनाइ भएको छ।

ADVERTISEMENT

अध्यक्ष पौडेलले भने, “यसपाली ठूलो बाढी आयो, त्यसले गर्दा सवारी साधन आवागमन ठप्प भएका छन्, लोकमार्गमा काम गर्ने मेसिन मगाएर खुलाउने प्रयास गरेका छौँ, एकतर्फी भए पनि खुलाएर यात्रुलाई गन्तव्यमा पठाउनुपर्छ भनेर लागेका छौँ, सबै सडक सफा गर्न त धेरै समय लाग्छ, सडक त पूरै बगरमा परिणत भएको छ।”

ADVERTISEMENT