काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताएका छन् । साथै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको उनको भनाइ छ ।
तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुस्खद खबरले चिन्तित छु । बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ । उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो ।’
प्रधानमन्त्री ओलीले बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् ।
उत्तराखण्डमा आएको बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना र बर्दिया मधुवनका ४ जना गरी कम्तिमा १७ जना नेपाली नागरिक परेको आशंका छ ।





