काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन्।

प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा सम्बन्धित मन्त्रीहरू र निकायका अधिकारीहरूसँग निर्माणाधीन संसद् भवन परिसरमा जेन-जी  सहिदका सालिक राख्ने विषयमा छलफल गरेकी हुन्। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा. मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल र कानुन सचिव पाराश्वर ढुङ्गानालगायत सहभागी थिए।

छलफलका क्रममा सहरी विकास सचिव सिग्देलले सहिदका सालिक राख्नका लागि पहिचान गरिएका स्थान र सम्भावित डिजाइनबारे जानकारी गराउँदै आवश्यक सुझाव तथा निर्देशनका लागि आग्रह गरे।

प्रधानमन्त्री कार्कीले सहिदहरूको सम्मानसँग सम्बन्धित यस विषयमा ढिलाइ नगर्न निर्देशन दिँदै संसद् भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरी आवश्यक निर्माण कार्य तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन्।