काठमाडौं, भदौ ९ – नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले २०८२ असार सम्मको मासिक भुक्तानी प्रणालीको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार डिजिटल भुक्तानीको पहुँच र प्रयोग दुवैमा वृद्धि देखिएको छ। राष्ट्र बैंकका अनुसार, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २७७ लाख ४१ हजार २८४ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २४६ लाख ४८ हजार ८४६ रहेको थियो । त्यसैगरी इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि २६ लाख ६५ हजार बाट बढेर २७ लाख ४२ हजार पुगेको छ।
भुक्तानी प्रणाली अन्तर्गत वालेट प्रयोगकर्ताको संख्या २ करोड ६७ लाख ६५ हजार ६६० पुगेको छ, जुन गत वर्ष २ करोड ३४ लाख ६१ हजार १०७ रहेको थियो । डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ६५ हजार ७९२ पुगेको छ, भने क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या ३ लाख १८ हजार ४२८ पुगेको छ।

स्रोत :नेपाल राष्ट्र बैंक
त्यसैगरी, एटीएम मेसिनको संख्या ५,२६३ पुगेको छ भने शाखारहित बैंकिङ सेवा भने २०८० को सोहि अवधिमा रहेको १३१९ बाट घटेर ८२२ मा झरेको छ। जसअनुसार शाखा रहित बैंकिंग सेवामा ३७.६८ प्रतिशतको गिरावट आएको छ।
विज्ञहरुको अनुसार यो तथ्यांकले नेपाली उपभोक्ता क्रमशः नगदरहित भुक्तानी प्रणालीतर्फ आकर्षित भइरहेको देखाएको छ। यसैगरि मोबाइल बैंकिङ र डिजिटल वालेटको वृद्धिले ग्रामीण भेगसम्म वित्तीय पहुँच विस्तारमा सहयोग गरेको देखिन्छ भने शाखारहित बैंकिङ सेवा घट्नुले आगामी दिनमा दुर्गम क्षेत्रमा बस्ने नागरिकहरुमा थप वित्तीय पहुँच विस्तारका लागि चुनौती बन्न सक्ने देखिएको छ।






