काठमाडौं। अहिले हामी चालु आर्थिक वर्षको समाप्तिको अन्तिम सातामा छौं। सोअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ लाई हामी यही असार मसान्त अर्थात् ३२ गते बिदाइ गर्नेछौं। सोलगत्तै हामी आर्थिक वर्ष २०८३/०८४ मा प्रवेश गर्नेछौं। यहाँ यो कुरा उल्लेख गर्नुको सार के हो भने, २०८२ जेठ १५ गते अर्थमन्त्रीका रूपमा विष्णु पौडेल रहेका थिए। अहिले उनी सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका छन्।

तत्कालीन अर्थमन्त्री पौडेलले २०८२ जेठ १५ गते बजेट भाषणका क्रममा भनेका थिए, “हामी चालु आर्थिक वर्षभित्र नियो बैंक सञ्चालनमा ल्याउँछौं।” तत्कालीन समयमा नियो बैंक केका लागि, कसका लागि र किन ल्याउने भन्ने विषयमा केही उल्लेख गरिएको थिएन। उनले त्यतिबेलाको बजेट भाषणको बुँदा नं. ३२७ मा आर्थिक वर्ष २०८२/०८३ भित्र नियो बैंक स्थापना गरिनेछ भनेर उल्लेख गरेका थिए। २०८२ को भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उनी अर्थमन्त्री रहेनन्, सबै उथलपुथल भयो। तर सरकार र व्यक्ति परिवर्तन हुँदैमा नीति नै परिवर्तन हुने हाम्रो मुलुकमा अहिले नियो बैंकको चर्चा नै हराएको छ।

त्यतिबेला नियो बैंकका लागि नीति, नियम र कानुन बनाउने तथा नियो बैंक सञ्चालनको अनुमति दिनेसम्मको कुरा गरेको नेपाल राष्ट्र बैंकमा पनि अहिले नियो बैंकबारे कुनै चर्चा छैन। नेपाल राष्ट्र बैंक अहिले हालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को पुस मसान्तसम्म बैंकिङ क्षेत्रमा रहेको गैर–बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ। यससँगै नियो बैंकको चर्चा अहिले पूर्ण रूपमा सेलाएको छ।

ADVERTISEMENT

तत्कालीन अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गर्ने तथा डिजिटल, मोबाइल र शाखारहित बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले नियो बैंक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। त्यससँगै नियो बैंक भनेको के हो? यसले कसरी काम गर्छ? नेपालमा नियो बैंकले कसरी काम गर्छ? परम्परागत बैंकिङ र नियो बैंकबीच के–कस्ता फरक छन्? विश्व बैंकिङ बजारमा नियो बैंकको अवस्था कस्तो छ? आदि विषयमा चासो र चर्चा दुवै बढेको थियो।

ADVERTISEMENT

पछिल्ला केही वर्षमा विकसित राष्ट्रहरूमा ‘नियो बैंक’ भन्ने अवधारणा निकै चर्चामा आएको छ। यो अवस्थामा आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले नियो बैंकको अवधारणा अघि सारेपछि नेपालजस्तो विकासशील राष्ट्रमा पनि नियो बैंक आवश्यक भएको आवाज उठेको थियो। विश्व बजारमा कोभिड–१९ महामारी आएपछि नै नियो बैंकिङको आवश्यकता महसुस गरिएको हो। नेपालको सन्दर्भमा नियो बैंक केवल वैकल्पिक सेवा होइन, यो एउटा आवश्यकताका रूपमा देखा परेको छ। डिजिटल युगमा सर्वसुलभ, द्रुत, सुरक्षित र समावेशी वित्तीय पहुँच उपलब्ध गराउन नियो बैंक पछिल्लो समय निकै ठूलो आवश्यकताको विषय बनेको चर्चा त्यतिबेला चलेको थियो।

ADVERTISEMENT

विश्व बैंकिङ बजारमा नियो बैंक भनेको पूर्णतः डिजिटल बैंक हो। यसले परम्परागत बैंक शाखाबिना नै अनलाइन प्लेटफर्ममार्फत बैंकिङ सेवा प्रदान गर्छ। यसमा मोबाइल एप, वेब प्लेटफर्म र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी ग्राहकको बैंकिङ अनुभवलाई सहज, सरल र कम लागतमा पुर्‍याइन्छ। यसले खाता खोल्न, बचत गर्न, कर्जा सुविधा लिन, बिल भुक्तानी गर्न, लगानी गर्नजस्ता सबै बैंकिङ सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउँछ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार देशको ३० प्रतिशतभन्दा बढी जनता अझै पनि औपचारिक वित्तीय प्रणालीभन्दा बाहिर रहेका छन्। बैंकहरूको सीमित शाखा, उच्च सञ्चालन खर्च, दूरदराजमा सेवा नपुगेको अवस्था र कागजमा आधारित प्रणालीका कारण सेवामा ढिलाइ हुनु सामान्य भएको छ। यसले गर्दा बैंकिङ पहुँच सहरी र सुगम क्षेत्रमा मात्र केन्द्रित रहेको देखिन्छ। यस्तो अवस्थामा नियो बैंक नेपालको आवश्यकता हो।

अहिले पनि मुलुकका सबै क्षेत्रमा वित्तीय पहुँच विस्तार हुन सकेको छैन। हिमाल, पहाड र तराईका सबै क्षेत्रमा रहेका नागरिक सधैं बैंक शाखामा पुग्न सक्ने अवस्थामा छैनन्। नियो बैंकले मोबाइल र इन्टरनेटमार्फत सेवा प्रदान गर्ने भएकाले जहाँ सिग्नल पुग्छ, त्यहाँ बैंक पुग्ने अवस्था हुन्छ। यसले ग्रामीण तथा पिछडिएको वर्गलाई पनि वित्तीय सेवामा समाहित गर्न सञ्जीवनी बुटीजस्तै काम गर्न सक्छ।

नियो बैंकले शाखारहित मोडल अपनाउने भएकाले भवन, कर्मचारी, कागजी प्रक्रिया आदिमा लाग्ने खर्च निकै कम हुन्छ। यसकारण सेवाको लागत घटाएर ग्राहकलाई सस्तो दरमा सेवा प्रदान गर्न सकिन्छ। साथै, तत्काल खाता खोल्ने, तत्काल रकम स्थानान्तरण गर्ने सुविधा रहेकाले प्रयोगकर्ताको समय पनि बचत हुन्छ।

पछिल्लो समय नेपालमा मोबाइल फोनको पहुँच निकै बढेको छ। स्मार्टफोनको प्रयोग दर उच्च छ र इन्टरनेट सेवा पनि विस्तार हुँदै गएको छ। यस्तो अवस्थामा नियो बैंकको प्रयोगले डिजिटल साक्षरतामा सुधार ल्याउनुका साथै आम जनताको प्रविधिमैत्री सोच विकासमा ठूलो सहयोग पुग्नेछ।

नेपालमा नियो बैंकको आवश्यकताको महसुस कोभिड–१९ महामारीका समयमा भएको थियो। त्यो बेला परम्परागत बैंकिङ प्रणाली प्रभावित हुँदा डिजिटल माध्यममा निर्भरता अत्यावश्यक बनेको थियो। सो समयमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको प्रयोग निकै बढ्यो। यसले पनि नियो बैंकको आवश्यकता र भविष्यलाई उजागर गरेको थियो।

जेन–जी अर्थात् युवापुस्ता द्रुत, सहज र प्रविधिमैत्री सेवामा विश्वास गर्छ। उनीहरू सानो कामका लागि पनि शाखा जान रुचाउँदैनन्, बरु मोबाइलबाट एक क्लिकमै सबै काम गर्न चाहन्छन्। नियो बैंकले यस्तो पुस्ताको आवश्यकतालाई सम्बोधन गर्न सक्छ। यसकारण पनि भविष्यमा नियो बैंक निकै महत्वपूर्ण हुन सक्छ।

नेपालमा पछिल्लो समय बढ्दै गएको स्टार्टअप इकोसिस्टमका लागि द्रुत र सस्तो बैंकिङ सेवा अत्यावश्यक रहेको छ। नियो बैंकले साना उद्यमीहरूलाई डिजिटल खाता, अनलाइन पेमेन्ट गेटवे, तुरुन्त कर्जा सुविधा जस्ता सेवामार्फत व्यावसायिक सुरुवातमा सहयोग पुर्‍याउन सक्छ। यस अर्थमा नेपालमा नियो बैंकको आवश्यकता र महत्व निकै ठूलो रहेको छ। नेपालको समग्र विकास र आर्थिक समृद्धिका लागि पनि नियो बैंक आवश्यक रहेको छ। तर सरकार परिवर्तन भएसँगै अहिले नियो बैंकको अवधारणा पनि सुस्ताएको छ।

नेपालमा आगामी आर्थिक वर्षको बजेटमार्फत मात्र नियो बैंकको चर्चा चलेको भए पनि विश्व बैंकिङ बजारमा भने निकै अघिदेखि नै नियो बैंक सञ्चालनमा रहेका छन्। हाम्रै छिमेकी राष्ट्र भारतमा पनि सन् २०१५ देखि नै नियो बैंक सञ्चालनमा रहेको छ। यसैगरी चीन र जापानमा पनि निकै अघिदेखि नै नियो बैंक सञ्चालनमा रहेका छन्।

भारतमा नियो बैंकले क्रस–बोर्डर ट्राभल बैंकिङमा केन्द्रित डिजिटल बैंकिङ प्रदायकका रूपमा आफ्नो गतिविधि सञ्चालन गरिरहेको छ। सुरुवाती समयमा नियोले बचत खाता, खर्च नियन्त्रण र लगानी सेवा प्रदान गर्थ्यो, तर निक्षेप संकलन तथा नियामकीय लाइसेन्स नभएकाले प्रत्यक्ष कर्जा दिन सक्दैनथ्यो। पछि भारतले यसमा सुधार गर्‍यो। भारतमा सन् २०१५ को हाराहारीमा सुरु भएको नियो बैंकको संख्या अहिले २७ वटा पुगिसकेको छ। यी बैंकहरूले मुख्य रूपमा डिजिटल बैंकिङ सुविधा प्रदान गर्दै आएका छन्। फ्रिओ, एफ आई मनी, जुपिटर, इन्स्टा पे, फाम पे, माविला मनी, नियो, राजोर पे एक्स, चेक बुक, फि लगायतका झण्डै २७ वटा नियो बैंकहरूले वित्तीय सेवा उपलब्ध गराउँदै आएका छन्।

चीनमा पनि नियो बैंकको अवस्था निकै बलियो रहेको छ। चीनमा हाल चारवटा मुख्य रूपमा डिजिटल अर्थात् अनलाइन–मात्र बैंक सक्रिय छन्। यी बैंकहरू सन् २०१४–२०१७ को अवधिमा सरकारद्वारा स्थापना गरिएका हुन्। चीनमा हाल वी बैंक, माई बैंक, र्यापिड, स्क्रिल, वाईज, एयर वालेक्स, ट्रान्सफर गो लगायतका डिजिटल बैंकिङ सेवा प्रदायकहरूले वित्तीय सेवा उपलब्ध गराउँदै आएका छन्।

जापानमा भने नियो बैंक अर्थात् डिजिटल बैंकहरूको संख्या सीमित रहेको छ। वाईज, जिनोमी, बिल्डर आदी कम्पनीहरुले जापानमा नियो बैंकको रुपमा काम गर्दै आएका छन् ।