काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.०८ अंकले बढेर २८५२.१५ अंकमा कायम भएको छ ।
आज अघिल्लो दिनको भन्दा कारोबार रकम पनि बढेको छ । ३१८ कम्पनीको कारोबार हुँदा दुई करोड ५४ लाख कित्ता सेयर किनबेच भएको छ । जसअनुसार साढे आठ अर्बको कारोबार भएको छ ।
बिहीबार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६२ कम्पनीको सेयर घटेको छ । आज सेयर होल्ड गर्ने धेरै देखिएका छन् । जसकारण अघिल्लो दिनको तुलनामा सेयर किनबेच पनि कम भएको छ ।
आज लिबर्टी इनर्जी कम्पनीको सबैभन्दा धेरै ३९ करोडको सेयर कारोबार भएको छ । त्यसपछि शिवम् सिमेन्टको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, नेपाल रिइन्स्योरेन्सको २२ करोड र युनाइटेड मोदी हाइड्रोपावरको २० करोडको कारोबार भएको छ ।
बिहीबार सिकलेस हाइड्रोपावर र बरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसपछि मकर जितुमाया सुरी हाइड्रोपावरको सात, रिलायबल समृद्धि योजनाको ६.४९ र खानीखोला हाइड्रोपावरको ६.१९ प्रतिशत सेयर मूल्य बढेको छ ।





