काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले शुक्रबार सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।
आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
आयोगले दल दर्ताको आह्वान गरेसँगै उपनिर्वाचनको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । अहिलेसम्म कुनै पनि दलले उम्मेदवार तोकेका छैनन् ।






