काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबिच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार साँझ एक कार्यक्रमबिच कोष र बारबिच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल बार जस्तो गरिमामय संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु ‘विश्वासको सम्झौता’ भएको बताउनुभयो । बिहानदेखि बेलुकासम्म काम गर्दा अबकाश पछि केही पनि नपाउने अवस्थाको अन्त्य गर्न यो कोषको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।
‘‘संसारमा निःशुल्क केही पनि हुन सक्दैन, कसैले न कसैले तिर्नुपर्छ,’’ मन्त्री भण्डारीले भन्नुभयो, ‘‘यो कोष पेन्सनेबल समाज निर्माणको दिशातर्फको गम्भीर प्रयासको रुपमा अगाडि बढेको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले हाम्रो यस प्रयासलाई खाडी मुलुकहरूमा रोल मोडेलको रूपमा अघि बढाउने तयारी गरिरहेको छ।’’ यो हाम्रो लागि गौरवको विषय हो, उहाँले भन्नुभयो ।







