काठमाडौं । मुलुक कृषिप्रधान भए पनि एक वर्षमा ४० अर्ब भन्दा बढीको धान चामल आयात भएका्े छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिणाममा खाद्यान्न आयात भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२ मा ४० अर्बभन्दा बढीको धान र चामल आयात भएको छ ।
आवमा कुल १८ खर्ब ४ अर्बको वस्तु आयात गर्दा ४० अर्ब १८ करोड रुपैयाँको धान चामल आयात भएको हो । विभागका अनुसार यो रकमबाट ७ लाख ७५ हजार २६८ टन धान चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १८ अर्ब रुपैयाँ बढीको धान चामल आयात भएको हो ।
अघिल्लो आव २०८०–८१ मा २२ अर्ब २३ करोड रुपैयाँको ४ लाख ९ हजार टन धान चामल आयात भएको थियो । अघिल्लो आवसँग तुलना गर्दा गत वर्षमा १७ अर्ब ९५ करोड धेरैको धान चामल आयात भएको छ । परिमाणमा हेर्दा पनि ३ लाख ६५ हजार ४२६ टन धान चामल धेरै आयात भएको छ ।
विभागका अनुसार आव २०७७–७८ का तुलनामा भने गत वर्षको धान चामल आयात थोरै हो । उक्त आवमा ५० अर्ब ७८ करोड ६९ लाख रुपैयाँको १३ लाख ३४ हजार ३३० टन धान चामल आयात भएको थियो । उक्त आवका तुलनामा गत वर्षको आयात १० अर्ब ५९ करोडले कम हो । परिमाणमा पनि ५ लाख ५९ हजार ६२ टन धान चामल कम आयात भएको छ ।
कृषि तथा पशुुपंक्षी विकास मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले खानेबानीमा आएको परिवर्तको कारणले गर्दा पनि गत आवमा दोव्बर परिणाममा धान चामल आयात भएको जानकारी दिनुुभयो । स्थानीय उत्पादन कम हुदा आयात बढ्दै गएको उहाँको भनाई छ । भारतले चामल निर्यात खुकुलो गर्दा नेपालमा धान चामल आयात बढेको उहाँको भनाई छ ।

अघिल्लो वर्ष भारतले चामल निर्यातमा कडाइ गर्दा आयात कम भएको थियो । गत वर्ष चामल निर्यात खुला गर्दा नेपालमा पनि चामलको आयात वृद्धि भएको उहाको भनाइ छ । नेपालमा पछिल्ला वर्षहरुमा धान उत्पादन बढ्दै गएको छ । धान उत्पादन कम भएकै कारण धेरै धान चामल आयात भएको भन्दा पनि भारतले चामल निर्यात खुला छोड्दाको असर परेको रेग्मीको भनाइ छ । स्वदेशी भन्दा आयातीत भारतीय चामल सस्तो पर्ने हो भने आन्तरिक उत्पादन बढे पनि आयात नघट्ने उनले बताए ।
मन्त्रालयका अनुसार पछिल्लो समय धान उत्पादन बढ्दै गए पनि आन्तरिक मागअनुसार ७ लाख टन चामल अपुग छ । आन्तरिक मागको अपुग परिमाणभन्दा भने चामल आयात धेरै भइरहेको छ ।मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । वार्षिक १० लाख मेट्रिक टन धान अपुुग भएकाले पनि ठुुलो परिणाममा आयात हुने गरेको व्यवसायीको भनाई छ ।

कृषि विभागका अनुसार बजारको मागअनुसार नै धान चामल आयात भएको हो । विगतमा चोरी पैठारीबाट आयात हुने गरेको धान चामल यस पटक भन्सार विन्दुबाट नै आयात भएको हुँदा बढी देखिएको हो ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको छ । यो अघिल्लो वर्षभन्दा २ लाख ३१ हजार २ सय ४२ टन धेरै हो । अघिल्लो आवमा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । गत आवमा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धानखेती लगाइएको थियो ।
अघिल्लो आवमा योभन्दा धेरै १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धानखेती गरिएको थियो । यो वर्ष उत्पादन भने कम भएको थियो । यो वर्ष मधेश प्रदेशमा पानी परेको छैन । सरकारले यो प्रदेशलाई सुख्खा क्षेत्र घोषित गरेको छ ।

आकाशे पानी नपरेको र सिँचाइ सुविधा नभएकाले यो प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफलको आधा रोपाइँ हुन सकेको छैन । छिमेकी मुलुक भारत लगायतका देशबाट खाद्यान्न आयात बढी हुने गरेको छ ।