काठमाडौँ । कृषि तथा पशुुपंक्षी विकास मन्त्रालयले उखुकिसानको बाँकी रहेको अनुदान रकम एक दुुई दिन भित्रमै भुक्तानी गरिने बताएको छ ।
प्रतिक्विन्टल ३५ रुपियाँका दरले गत आर्थिक वर्ष २०८१\८२ मा बाँकी रहेको रकम केही दिनमै कोष तथा लेखा नियन्त्रणको कार्यलयमार्फत भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जानुका पण्डितले अर्थमन्त्रालयले सहमति दिन ढिलाई गरेको कारणले गत आवको रकम भुुक्तानी गर्न ढिलाई भएको जानकारी दिइन । रकम भुक्तानीको लागि आइतबारदेखि नै प्रक्रिया अगाडि बढीसकेकाले जतिसक्दो छिटो किसानलाई रकम भुक्तानी गरिने उनको भनाई छ । गत आवको ७५ करोड रुपैया भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाई छ ।
२७ असारको मन्त्रीपरिषद्को निर्णयले उखुमा दिदै आएको अनुुदान रकम ७० रुपैयाबाट कटौती गरेर ३५ रुपैया मा झारेको थियो । सरकारले उखुु किसानलाई उपलव्ध गराउदै आएको अनुदान रकम कटौती गरेपछि किसानहरुले विरोध प्रर्दशन गरेका छन ।
उखु उत्पादक महासंघको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौं आएका किसानले आइतबार गौशालाबाट नारा–जुलुससहित माइतीघरमण्डला, बानेश्वर चोकमा प्रदर्शन गरेका हुुन् ।
सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शन गरेका छन् ।
किसानले सरकारले प्रतिक्विन्टल ७० रुपियाँको दरले अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन् । महासंघका संयोजक श्यामबाबु रायले चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेको भए पनि सरकारले दिने कबुल गरेको अनुदान नपाएकाले आन्दोलनमा उत्रन परेको बताए ।
सरकार आफैले निर्धारण गरेको उखुुको पैसा समयमा नदिदा किसान मारमा परेको उनको भनाई छ । आन्दोलनमा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका किसानहरूको सहभागिता छ । विशेषगरी सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका पाँच सय देखि ६ सय संख्यामा किसानहरू प्रदर्शनमा सहभागी भएका छन् ।
कृषि मन्त्रालयले उखु किसानलाई गत वर्ष दिएकै सरह प्रतिक्विन्टल अनुदान ७० रुपियाँ तोकेर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । तर, मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन नगरेर किसानको अनुदान कटौती गरी ३५ रुपैया दिने प्रस्ताव स्वीकृत गरेको थियो ।
सरकारले अनुदान कटौतीको रकम मान्य नहुने भन्दै किसानले विरोध जनाउदै आएका छन् । आर्थिक वर्ष २०८१\८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको किसानको दावी छ ।







