वासिंगटन । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा भिटो प्रयोग गरेको छ ।

परिषद्का १० निर्वाचित सदस्यहरूले पेस गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । प्रस्तावमा ‘गाजामा सबै पक्षले सम्मान गर्ने तत्काल, बिना सर्त र स्थायी युद्धविराम’, हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।

ADVERTISEMENT

अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उपविशेष दूत मोर्गन ओर्टागसले भने, ‘यस प्रस्तावको अमेरिकी विरोध कुनै आश्चर्य होइन । यसले हमासको निन्दा गर्दैन, न इजरायलको आत्मरक्षाको अधिकारलाई मान्यता दिन्छ । बरु यसले हमासलाई फाइदा पुग्ने झूटा कथालाई वैधानिकता दिन्छ ।’

ADVERTISEMENT

अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले तीव्र आलोचना गरे । प्यालेस्टिनी दूत रियाद मन्सुरले भने, ‘परिषद्को मौनता यसको विश्वसनीयता र अधिकारका लागि ठूलो मूल्यमा आउँछ । अत्याचार अपराधहरू भइरहेका बेला भिटो शक्तिको प्रयोग हुनु हुँदैन ।’

अल्जेरियाका राष्ट्रसंघीय राजदूत अमर बेन्दजामाले भने, ‘प्यालेस्टिनी दाजुभाइ दिदीबहिनीहरू, हामीलाई क्षमा गर्नुहोस् । संसारले अधिकारको कुरा गर्छ, तर तपाईंहरूलाई अस्वीकार गर्दछ । हाम्रो निष्कपट प्रयास पनि अस्वीकारको पर्खालसँग ठोक्कियो ।’

ADVERTISEMENT

इजरायली राजदूत ड्यानी डेननले ‘गाजामा हाम्रो युद्धलाई कुनै औचित्य आवश्यक छैन’ भन्दै अमेरिकाले दिएको भिटो समर्थनप्रति आभार व्यक्त गरे। यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८०औँ वार्षिकोत्सवकै दिन भयो ।