काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पोखरेलले सपथ लिएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद् बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बनमा परेका थिए ।
बिमा ऐन, २०७९मा व्यवस्था भएअनुसार बिमा प्राधिकरणको अध्यक्ष हुनका लागि मौद्रिक, बैंकिङ, वित्तिय, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानूनमा स्नातकोत्तर गरेर सम्बन्धित क्षेत्रमा पाँच वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको हुनुपर्छ। तर ओझाले पेश गरेका कागजातहरू नक्कली भएको भन्दै अख्तियारमा उजुरी परेको हो।
छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले मंगलबार पत्र बुझेका छन् ।





