काठमाडौं । देश विकासको बाटोमा कुनै पनि हालतमा जाँदैन भन्ने एउटा ज्वलन्त उदाहरण प्रधानमन्त्री केपी ओलीले सामान्य पुल उद्घाटनलाई दिनभरि माया मारेको विषय नै काफी छ । कर्णाली करिडोरअन्तर्गत हुम्लाको चुवाखोलामा निर्मित बेलीब्रिज उद्घाटनका लागि प्रधानमन्त्री ओलीले आइतबार आफ्नो महत्वपूर्ण समय त्यत्तिकै गुजारे ।
बिहानै काठमाडौंबाट सुर्खेत पुगेका ओली मौसम खराबी भएपछि चार घन्टा त्यत्तिकै बसेका थिए । उनी कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलसहित विभिन्न नेताहरुसँग कुराकानी गरेर बिताएका थिए । प्रधानमन्त्री ओली, कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलसहितको टोलीले वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर, नेवारेमा आराम गरेको थियो। चार घन्टा सुर्खेतमा रोकिएपछि उनी अपराह्न हुम्ला पुगेका थिए ।
प्रधानमन्त्री ओलीसहितको टोली बिहान करिब साढे ११ बजे सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो। तर, उडान मार्गमा पर्ने कालिकोट खण्डको मौसममा सुधार नआएपछि तत्काल हुम्लाका लागि उडान हुन सकेको थिएन। मौसममा सुधार आएपछि दिउँसो मात्र प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्लाका लागि उडेको थियो।
आफ्नै प्रधानमन्त्रीकालमा हुम्ला पनि सडक राजमार्गमा जोडिएको प्रचार गर्न पनि ओलीले दिनभरिको माया मारेर बेलिब्रिज उद्घाटन गर्न हुम्ला पुगेका हुन् । जबकि त्यो पुल कर्णाली प्रदेशकै मन्त्री वा मुख्यमन्त्रीले पनि उदघाटन गर्न सक्थे । तर ओलीले आइतबार बिहानै सामाजिक सञ्जालमा लेखेर आफू हुम्ला जान लागेको जानकारी गराएका थिए । त्यो बेलिब्रिज पुल ३५ दिनमा जडान गरिएको थियो ।








