काठमाडौं । सहकारी ठगीमा मुछिएका विपिन आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण विभाग प्रमुख मनोनीत भएका छन् । अनिलकेशरी शाहले राजीनामा दिएर रिक्त रहेको प्रमुखमा रास्वपाले आचार्यलाई शनिबार मनोनीत गरेको हो ।
केही समयअघि बैंकर्ससमेत रहेका शाहले रास्वपाको प्रशिक्षण विभाग प्रमुखबाट राजीनामा दिएका थिए । प्रमुख भएर आएपछि शाहले एउटै पनि प्रशिक्षण कार्यक्रम राख्न सकेनन् ।
रास्वपा रवि लामिछानेको एकल निर्देशनमा चल्ने भएकाले पनि शाहले खुलेर काम गर्न सकेका थिएनन् । लामो समय निष्क्रिय भएका शाहले विभाग प्रमुख त्यागेका हुन् । अहिले उनको ठाउँमा आएका आचार्य सभापति रवि लामिछानेसँगै सूर्यदर्शन सहकारी ठगीमा मुछिएका व्यक्ति हुन् ।
रास्वपले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । झालाई अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । यसैगरी अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रवि किरण अधिकारीलाई दिइएको छ ।












