काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार दिउँसो बसेको छ ।

दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो । कार्कीले तीनजना मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् । त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गरेका थिए ।

आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए ।

खनाललाई अर्थ, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङलाई ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।