काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि सिर्जित अवस्थाका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सरोकार भएका निकायको बैठकमा प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौँसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।
दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा शीघ्र बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्नेछ । यस वर्ष असोज ६ गते घटस्थापना र १६ गते बडादसैँ परेको छ ।
सरकारले औपचारिक निर्णय नगरे पनि शनिबार र आइतबार निजीका साथै केही छिटपुट सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन् । आइतबारदेखि सरकारी र निजी कार्यालय खुलेकाले पनि केही सार्वजनिक सवारीका साधन चलेका हुन् ।







