काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकार गठन भएको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण तथा १० वटा बेलिब्रिज जडान भएको जनाएको छ । यसै गरी एक वर्षको अवधिमा ९३२ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।
एक वर्षको आफ्नो कार्यकालमा भएका उपलब्धिबारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पुँजीगत खर्चका दृष्टिले मन्त्रालय अब्बल देखिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यस मन्त्रालयको विगत छ वर्षको पुँजीगत खर्च तुलना गर्दा आर्थिक वर्ष २०८१÷८२ मा सबैभन्दा बढी ७६.४१ प्रतिशत प्रगति भएको छस जुन औसत राष्ट्रिय पुँजीगत खर्चभन्दा करिब १३ प्रतिशत बढी हो ।”
मन्त्री दाहालले यही अवधिमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्लाको सदरमुकाम सिमकोटसमेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएर सबै जिल्लामा यातायातको पहुँच स्थापित भएको तथा ललितपुरको ग्वार्कोस्थित मुलुककै पहिलो फ्लाइओभर सञ्चालनमा आएको उल्लेख गर्नुभयो ।
एक वर्षमा नागढुङ्गा सुरुङमार्ग निर्माण पूरा भई सञ्चालन अवस्थामा पुगेको, सिद्धबाबा सुरुङमार्ग छिचोलिएको, त्रिदेशीय कोरिडोरका रूपमा रहेको किमाथाङ्कासम्म ट्र्याक खुला गरिएकोलगायतका उपलब्धिबारे उहाँले जानकारी दिनुभयो ।







