काठमाडौं। गोल्छा ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। हाल विभागको हिरासतमा रहेका दीपक भट्टसँग जोडिएको गैरकानूनी धितोपत्र कारोबार प्रकरणमा उनको संलग्नता रहेको आशंकामा अनुसन्धान अघि बढाइएको बताइएको छ।

उनी गोल्छा ग्रुपका अध्यक्ष तथा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्षसमेत हुन्। आर्थिक तथा सेयर कारोबारसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानका क्रममा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी राखेको छ भने आवश्यक प्रमाण र कागजात संकलनको प्रक्रिया पनि अघि बढाइएको बताइएको छ।