काठमाडौं । नेपालमा सञ्चालित एमसिसी परियोजनाअन्तर्गतका कार्यक्रमले निरन्तरता पाएको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले जानकारी गराएको छ। एमसिए नेपालले बुधबार विज्ञप्ति निकाल्दै अमेरिकी सरकारको यो निर्णयलाई स्वागत गरेको छ।
अमेरिकी सरकारबाट अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरिएको हो । एमसिए–नेपालले २९७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसिसीसँग गरिरहेको छ।
एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीनवटा सबस्टेसन एवं १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेपछि अमेरिकी सहायताका परियोजना रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपछि एमसिसीलाई ९० दिनको पुनर्मूल्यांकन समय राखेर त्यसअन्तर्गतका कार्यक्रम स्थगित गर्न भनिएको थियो।
एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो। उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख गरिएको छ। ‘एमसिए–नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छ र यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गर्दछ,’ एमसिए नेपालले विज्ञप्तिमा भनेको छ ।





