काठमाडौं । डिल्लीबजार कारागारबाट कैदीबन्दीले आफूहरु पनि बाहिर निस्कन पाउनुपर्ने माग गर्दै भित्रैबाट आगजनी गरेर बाहिर नाराबाजी गरिरहेका छन् । कारागारमा आगजनी भएपछि बस्ने ठाउँ असुरक्षित भन्दै उनीहरूले नयाँ आइडिया निकालेका हुन् ।
नेपाली सेनाले अहिले डिल्लीबजार कारागारमा सुरक्षा दिइरहेको छ । कैदीबन्दीको नाराबाजी जारी छ । जुनसुकै बेला सेनाले गोली चलाउने अवस्था आएको छ ।
मंगलबार रास्वपा सभापति रवि लामिछानेसहित सयौं कैदी नख्खु कारागारबाट निस्केपछि अन्यत्रका कारागारका कैदीबन्दी पनि यही माग गर्दै आएका छन् । कैलाली, महोत्तरी, जाजरकोट, धादिङ, ललितपुर, रुकुमलगायत विभिन्न जिल्लाका कारागारबाट अहिलेसम्म ६ हजारभन्दा बढी कैदीबन्दी बाहिर निस्केर भागिसकेका छन् ।
पर्सास्थित वीरगन्ज कारागार र काठमाडौंको डिल्लीबजार कारागारका कुख्यात कैदीबन्दी जुनसुकै बेला भाग्न सक्ने देखिएकबो छ । नख्खु कारागारमा पनि पहिले आगजनी गरेर जेलरहरूलाई बाहिर निकाली कैदीबन्दी पछि भागेका थिए । वीरगन्ज कारागारमा पनि अहिले तनाव देखिएकाे छ । कैदबन्दीले पर्खाल नै भ्वाङ पारेर भाग्न खाेजेपछि सेनाले नियन्त्रणमा लिएकाे छ । यही सिको देशभर उठ्नुले अराजकता र सुरक्षामा ठूलो चुनौती आउने निश्चित छ ।








