चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भदौ २५ गते फरार भएका ७४३ जना कैदीबन्दीमध्ये अहिलेसम्म ११६ जना फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्।
कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार, फरार भएकामध्ये चार जना नाबालकसहित ६२७ जना कैदीबन्दी पहिले नै फर्किसकेका छन्। प्रहरी निरन्तर खोजीकार्य गर्दै आएका छन् र अहिलेसम्म ६९ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाइएको छ।
सम्पर्कविहीन कैदीबन्दीहरूको विवरण सम्बन्धित प्रहरी एकाइहरूमा पठाइएको छ। ढुङ्गानाका अनुसार फरारमध्ये केही लागुऔषध कारोबार र जबर्जस्ती करणीमा संलग्न रहेका छन्। त्यस्तै, फरारमध्ये दुर्लभ सिङ्गे गैँडा चोरीका आरोपित पनि रहेको उल्लेख गरिएको छ।
कारागार कार्यालयले असोज २० गतेसम्म सम्पर्कमा आउनका लागि फरार व्यक्तिहरूलाई सूचना जारी गरेको थियो। तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने छ। साथै, फरारलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनी कारबाही गरिने कारागारले जनाएको छ।








