काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । लगातार तेस्रो दिन बढ्ने क्रममा आज नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५७.०५ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये ३०९ वटा कम्पनीको एक करोड ५७ लाख ६४ हजार कित्ता सेयर सात अर्ब ३ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात २.३८ प्रतिशतले बढ्यो । बैंकिङ समूह १.०९ प्रतिशत, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल ०.५७, हाईड्रो १.३८, जीवन बीमा १.१२, लघुवित्त २.२२, म्युचुअल फण्ड ०.३३, निर्जीवन बीमा १.०५ र अन्य ०.४८ प्रतिशतले बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको ४६ करोड १६ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युत कम्पनीको ४५ करोड ५५ लाख, बुटवल पावरको २५ करोड ८३ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड २० लाख र युनियन हाईड्रोपावरको २५ करोड १६ लाख बढीको सेयर कारोबार भयो । आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । सामुदायिक लघुवित्त र न्यादी हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।