काठमाडौं । राजधानीमा जेनजी (Gen Z) द्वारा आयोजित प्रदर्शन आज झडपपूर्ण बनेको छ। प्रहरीको असुर ग्यास प्रहारमार्फत भिड नियन्त्रण प्रयास भए तापनि जेनजी प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गर्न सफल भएका छन्।
पुराना दलहरूले संस्थागत गरेको भ्रष्टाचार र कुशासनविरुद्ध गरिएको प्रदर्शनमा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता देखिएको थियो। माइतीघरबाट सुरु भई नयाँबानेश्वरसम्म पुगेका प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवनतर्फ अगाडि बढेका थिए।
प्रहरीले संसद् भवन अगाडि रोक्ने प्रयासस्वरूप असुर ग्यास प्रहार गरे पनि प्रदर्शनकारीहरू गेटबाट माथि चढ्दै संसद् भवनभित्र प्रवेश गरेका छन्। संसद् भवन परिसरमा प्रवेश गरेपछि प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राजनीतिक दलहरूको असफल नेतृत्वप्रति असन्तोष प्रकट गरेका छन्।
यस घटनाले संसद भवन वरपरको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरेको छ भने आन्दोलन अझै चर्कने संकेत दिएको छ।







