काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको बाँकी बक्यौता रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनतालाई पार्टीले गम्भीर रूपमा लिएको उल्लेख छ ।
‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने धारणा पनि सार्वजनिक गरेको छ । किसानले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब उपलब्ध गराउनसमेत बैठकले सरकारसँग माग गरेको छ ।
यसैबीच, मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बुधबार ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । कार्यवाहक मुख्यसचिव दुलालका अनुसार बैठक बिहीबार पनि जारी रहनेछ ।












