झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१–८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।

ADVERTISEMENT

क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०–८१ मा दिएका निवेदनका आधारमा ५० हजार र एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उनले बताए ।

ADVERTISEMENT

राईले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई रु ५० हजारका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई एक लाखका दरले सहायता रकम वितरण गरिएको बताए । चालू आव २०८२–८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनको भनाइ छ ।

‘यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन’, सूचना अधिकारी राईले भने, ‘आर्थिक रुपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरुको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरुबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।’

विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई दुई लाख र अन्य कडा खालका रोग लागेकालाई रु एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो ।