काठमाडौं । एमाले र नेकपाबीच कोशी प्रदेश सरकार पुनर्गठन गर्ने सहमति भएपछि कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार राजीनामा दिने भएका छन्। केन्द्रमा एमाले र नेकपाबिच तीनबुँदे सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिएका छन् ।

यसैबिच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका मन्त्रीहरूलाई धन्यवादसहित बिदाइ गर्ने उद्देश्यले आज अपराह्न ३::३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

ADVERTISEMENT

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले कांग्रेसका मन्त्रीहरूले आज वा भोलि बिहानसम्म राजीनामा बुझाउने जानकारी प्राप्त भएको बताए ।

ADVERTISEMENT

राजीनामा दिन लागेका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ छिन् ।

एमाले र कांग्रेसबिचको सत्ता सहमतिपछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनीहरू मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस सरकारबाट बाहिरिएपछि अब एमाले र नेकपाका तर्फबाट नयाँ मन्त्रीहरूलाई सरकारमा सहभागी गराउने तयारी गरिएको छ।

कोशी प्रदेशमा २०७९ पुस २४ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएयता सत्ता समीकरणमा निरन्तर फेरबदल हुँदै आएको छ। त्यस क्रममा उद्धव थापा र केदार कार्कीको नेतृत्वमा समेत सरकार गठन भएका थिए। सर्वोच्च अदालतका आदेश, विश्वासको मत र केन्द्रीय सत्ता समीकरणका कारण प्रदेशमा पटक(पटक सरकार परिवर्तन तथा मन्त्रिपरिषद् पुनर्गठन हुँदै आएको छ।

पछिल्लो पटक २०८१ वैशाख २७ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएपछि एमाले, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र काङ्ग्रेसलगायत दल सरकारमा सहभागी भएका थिए। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेशमा परेको हो। काङ्ग्रेसका मन्त्रीहरूको बहिर्गमनसँगै कोशी प्रदेश सरकारको स्वरूप पुन: परिवर्तन हुने भएको छ।