काठमाडौं । कोशी प्रदेश सरकारले आइतबारको बिदा हटाउने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने व्यवस्था प्रभावकारी नभएको भन्दै ६ दिन नै सरकारी कार्यालय सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका छन् ।
मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत अफिसलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साविक झै बिदा सनिवार १ दिन मात्रै) काम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा ईन्धन बचत खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ ।’
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र आपूर्ति असहज भएपछि बालेन शाह नेतृत्वको सरकार गठन भएलगत्तै गएको चैत २२ गतेदेखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आएको थियो । इन्धन खपत र प्रशासनिक खर्च घटाउने मुख्य उद्देश्यसहित यो नियम देशैभर लागू गर्ने प्रयास गरिएको थियो ।
यो व्यवस्था लागू भएपछि कतिपय स्थानीय तहले यसलाई अस्वीकार गर्दै साबिककै व्यवस्थाअनुसार कार्यालयहरू सञ्चालन गरे पनि अधिकांश सरकारी कार्यालय र स्थानीय तहले यसको पालना गरेका थिए । तर, दुई दिन बिदा दिँदा सेवाग्राही मारमा परेको, सरकारी कामकारबाही सुस्त भएको र मुख्य उद्देश्य भनिएको इन्धन तथा प्रशासनिक खर्च बचतमा कुनै ठुलो परिवर्तन नदेखिए पछि यो नीतिको आलोचना हुँदै आएको छ ।
यदि कोशी प्रदेश सरकारले आइतबारको बिदा कार्यान्वयन नगर्ने निर्णय गरेमा यसको असर अन्य प्रदेशमा पनि पर्ने र संघ सरकारलाई ठूलो दबाब पर्ने निश्चित छ ।








