काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीसँग प्रतिस्पर्धा गर्न कठिन हुने देखेपछि नै कांग्रेसमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन्।
गत मङ्सिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले कांग्रेसका सबल पक्षको प्रभावकारी प्रचार हुन नसकेको बताए।
कांग्रेसलाई नेपालको राजनीतिको ‘विश्वविद्यालय’ को संज्ञा दिँदै पौडेलले अन्य राजनीतिक दलले समेत कांग्रेसबाट सिक्ने गरेको दाबी गरे।
‘कांग्रेस नेपालको राजनीतिको विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो,’ उनले भने, ‘हाम्रो विधान मुलुककै सबैभन्दा समावेशी छ, तर यस विषयलाई हामीले नागरिकस्तरमा प्रभावकारी रूपमा प्रचार गर्न सकिरहेका छैनौँ।’
पार्टीको गौरवपूर्ण इतिहास र समावेशी विधानलाई जनस्तरमा स्थापित गर्दै समाजका मुद्दालाई सँगै लिएर अघि बढ्न सके कांग्रेसलाई कमजोर बनाउन नसकिने उनको भनाइ थियो।
बैठकमा महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीको पनि आलोचना गरे। सरकारले संसद्लाई हेपेको, महँगीको भार नागरिकमाथि थोपरेको र राष्ट्रियतामाथि नै प्रहार गरिरहेको उनको आरोप थियो।
सुनकोसी–मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको दाबी गर्दै उनले सरकारका गतिविधिविरुद्ध कांग्रेसले सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए।
पार्टीलाई नागरिकसँग प्रत्यक्ष जोड्न कार्यशैलीमा सुधार आवश्यक रहेको बताउँदै पौडेलले तल्लो तहका बैठकमा स्थानीय नागरिकका ज्वलन्त मुद्दालाई अनिवार्य एजेन्डा बनाउनुपर्ने धारणा राखे।
उनका अनुसार वडा तहमा बैठक बस्दा कम्तीमा तीनवटा स्थानीय समस्या एजेन्डाका रूपमा समेटिनुपर्छ। समाजका हरेक वर्ग, समुदाय र उमेर समूहले कांग्रेसलाई आफ्नो अभिभावकका रूपमा महसुस गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
‘वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाका तीनवटा मुद्दा बैठकको एजेन्डा बनून्,’ उनले भने, ‘बैठकमा कुनै किशोर वा किशोरीले मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो भनेर गर्व गर्ने अवस्था बनोस्।’
त्यस्तै, ज्येष्ठ नागरिकले कांग्रेसले आफ्नो विषयमा बोल्यो भन्ने महसुस गर्नुपर्ने र समाजका सबै समुदाय, वर्ग तथा जातिले आफ्ना मुद्दा पार्टीको एजेन्डा बनेको अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ थियो।
महामन्त्री पौडेलले पार्टीका प्रतिनिधिहरू जिल्ला, पालिका र वडा तहमा जाँदा औपचारिक बैठक तथा कार्यकर्ता भेटघाटमा मात्र सीमित हुन नहुने बताए। कार्यक्रमको परम्परागत शैली परिवर्तन गर्दै स्थानीय समस्यालाई पनि पार्टीको छलफलमा समेट्नुपर्नेमा उनले जोड दिए।
‘अगाडि मञ्चमा गएर सबै जनाले एकै प्रकारको भाषण गर्ने पुरानो शैली अब हामीले बदल्नुपर्छ,’ उनले भने, ‘पार्टीको प्रतिनिधि भएर जिल्ला, पालिका वा वडामा जाँदा मान्छे मात्र जोड्ने होइन, त्यहाँका ज्वलन्त मुद्दाहरू पनि सँगसँगै लिएर आउनुपर्छ।’
समग्रमा नेपाली समाजलाई कांग्रेससँग जोड्ने गरी पार्टीको गतिविधि र कार्यशैली परिवर्तन गर्नुपर्ने उनको धारणा थियो।












