काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ। मंसिर ८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि शुक्रबार बिहान ८ः३० बजे पुनः बैठक बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। बैठकमा केन्द्रीय सदस्य, प्रदेश सभापति तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा विचार प्रस्तुत गरिरहेका छन्।
बिहीबारको बैठकले विस्थापित सुकुमबासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको थियो। कांग्रेसले उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ।
कांग्रेसका अनुसार सरकारले सुकुमबासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिए पनि उनीहरूलाई महिनौँसम्म अनिश्चिततामा राखेको छ। यस्तो अवस्थामा अस्थायी आश्रयसमेत हटाउन खोज्नु गलत भएको पार्टीको निष्कर्ष छ।
राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई आश्रय उपलब्ध गराउनु सरकारको दायित्व भएको कांग्रेसले जनाएको छ। उसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।












