काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। नेप्से ८.५७ अंकले घटेर २६२८ अंकमा कायम भएको हो।
यसअघि बिहीबार पनि नेप्से १०.८९ अंकले घटेको थियो। लगातार दोस्रो दिन बजार घट्दा कारोबार रकमसमेत खुम्चिएको छ।
बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये ५९ वटाको सेयर मूल्य बढेको छ भने २०३ वटाको घटेको छ। त्यस्तै, १७ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार भएका समूहहरूमध्ये बैंकिङ र निर्जीवन बीमा समूह मात्रै बढेका छन्। बैंकिङ समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेका हुन्।
अन्य समूहमा भने गिरावट आएको छ। विकास बैंक ०.७६, फाइनान्स ०.०४, होटल तथा पर्यटन ०.१४, जलविद्युत् ०.७४, लगानी ०.४१, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.६५, लघुवित्त ०.५२, अन्य ०.४४ र व्यापार समूह ०.१७ प्रतिशतले घटेका छन्।
शुक्रबार एनआईसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ। त्यस्तै, मान्डु हाइड्रोपावरको ४.७६, बेस्ट फाइनान्सको ४.३०, उपकार लघुवित्तको ३.१३ र माथिल्लो मैलुङखोला जलविद्युत्को ३.०६ प्रतिशतले मूल्य बढेको छ।
यता सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले घटेको छ। युनिक नेपाल लघुवित्तको ४.६४, बेनी हाइड्रोपावरको ४.२७, भुजुङ हाइड्रोपावरको ४.२१, स्वस्तिक लघुवित्तको ३.९४ र बोटलर्स नेपाल तराईको ३.४९ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। त्यसपछि ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन्।
त्यस्तै, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, एनएमबी बैंक र साहस ऊर्जासमेत सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।












