सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशबाट प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण अभियान सुरु गर्ने भएको छ । प्रशिक्षणका लागि पार्टी सभापति रवि लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले, सांसद सोबिता गौतमलगायत शीर्ष नेताहरू वीरेन्द्रनगर पुग्ने भएका छन् ।

पार्टीका कर्णाली प्रदेश महामन्त्री ललित चन्दका अनुसार शनिबार र आइतबार दुई दिनसम्म प्रशिक्षण सञ्चालन हुनेछ । कर्णालीबाट सुरु हुने यो अभियान त्यसपछि अन्य प्रदेशमा पनि विस्तार गर्ने पार्टीको तयारी छ ।

ADVERTISEMENT

चन्दले कर्णालीलाई पार्टीले विशेष प्राथमिकतामा राखेको बताए । निर्वाचनमा अपेक्षाकृत कमजोर अवस्था देखिएकाले संगठन विस्तार र राजनीतिक प्रशिक्षणलाई कर्णालीबाटै अघि बढाइएको उनको भनाइ छ ।

ADVERTISEMENT

प्रशिक्षणका लागि सभापति लामिछाने, उपसभापति वाग्ले, सोबिता गौतम, महामन्त्री विपिन आचार्य, नेता शिशिर खनाल, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेताहरू शुक्रबार नै वीरेन्द्रनगर आउने कार्यतालिका छ ।

कर्णाली प्रदेश उपसभापति तुलाराज शाहीका अनुसार प्रशिक्षणमा प्रदेशका जिल्ला, प्रदेश तथा स्थानीय तहका गरी करिब ३०० नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।

वीरेन्द्रनगरस्थित कौशीक गार्डेनमा आयोजना हुने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीलगायत विषयमा छलफल तथा प्रशिक्षण दिइनेछ ।

यसैबीच, रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पनि अनुशासित बनाउने संकेत गरेको छ । आफूलाई उम्मेदवार घोषणा गर्दै सामाजिक सञ्जालमा प्रचार गर्ने प्रवृत्तिमाथि कारबाही गरिने सहमहामन्त्री राजबहादुर शाहले बताएका छन् ।

कर्णालीका १० जिल्लामध्ये रास्वपाले आठ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । डोल्पा र हुम्लामा भने अधिवेशन हुन बाँकी रहेको पार्टीले जनाएको छ ।

महामन्त्री चन्दले कर्णालीमा बहुमतको सरकार निर्माण गर्ने लक्ष्यसहित संगठन विस्तार र चुनावी तयारीलाई तीव्रता दिइएको बताए ।