काठमाडौं । वरिष्ठ चिकित्सक प्राडा. गोविन्द केसीले सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीले मंसिर ११ गतेभित्र सहमतिविपरीतका निर्णय नसच्याए र सम्झौताहरू कार्यान्वयन नगरे २६औँ सत्याग्रह सुरु गर्ने बताएका हुन्।

ADVERTISEMENT

हालै सरकारसँग सहमति भएपछि २५ औँ सत्याग्रह स्थगित गरेका केसीले वर्तमान सरकारले पनि सहमति कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाएका छन्।

ADVERTISEMENT

उनका अनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका मागसहित गरिएको २४औँ सत्याग्रहका क्रममा भएका सहमति कार्यान्वयन नभएपछि २५औँ सत्याग्रह गर्नुपरेको थियो। त्यसपछि सरकारसँग पुनः सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो।

तर, सहमतिअनुसार काम गर्नुको सट्टा सरकारले जवाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्मविपरीत छानबिन समिति गठन गर्नुका साथै त्यसको कार्यक्षेत्रसमेत तोकेको केसीको आरोप छ।

यस विषयमा गल्ती सच्याउन र सहमति शीघ्र कार्यान्वयन गर्न गरिएको आग्रहलाई सरकारले बेवास्ता गरेको उनले बताएका छन्।

‘स्वास्थ्य, शिक्षा, जवाफदेहिता र सुशासनको नारासहित निर्वाचित सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लंघन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा उनले भनेका छन्।

सहमतिको पालना गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको उल्लेख गर्दै केसीले माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।