काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा संकलन गरिएको रकम मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धी सक्कल फाइल फेला परेको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको पहलमा गत मंसिर २ गते मन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलले उक्त फाइल फेला पारेको हो। उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा गठित कार्यदललाई रकम पठाइएको सम्बन्धमा आवश्यक कागजात तथा विवरण खोजी गर्ने जिम्मेवारी दिइएको थियो।

ADVERTISEMENT

कार्यदलले म्याक्रोटेक कम्पनीमार्फत मलेसियाको बेस्टिनेट कम्पनीमा रकम पठाइएको विषयमा श्रम मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख तथा कागजात अध्ययन र खोजबिन गरेको थियो।

ADVERTISEMENT

कार्यदलले दिनरात खटिएर सक्कल फाइल फेला पारेको र तोकिएको समयसीमाभन्दा अगावै जिम्मेवारी पूरा गरी सम्बन्धित निकायलाई फाइल हस्तान्तरण गरेको जनाएको छ।

फेला परेको सक्कल फाइल थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको छ।

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा रकम असुली गरिएको प्रकरणमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित तत्कालीन कर्मचारी तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि पनि अनुसन्धान भइरहेको छ।