काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।

२५ औँ सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म पूरा नभएको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ADVERTISEMENT

आइतबार विज्ञप्ति जारी गर्दै उनले तिहार र छठको सार्वजनिक बिदालाई ध्यानमा राखेर सहमति कार्यान्वयनका लागि सरकारलाई केही दिन थप समय दिएको बताएका छन् ।

ADVERTISEMENT

उनले अब पनि सहमति शीघ्र कार्यान्वयन नभए वा सहमतिविपरीतका गतिविधि जारी रहे स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ ।

केसीका अनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राखेर गरिएको २४औँ सत्याग्रह २०८३ साउन ११ गते सरकारसँग सहमति भएपछि स्थगित भएको थियो ।

तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णय गरेको उनको आरोप छ ।

त्यसको विरोध तथा पुराना सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको माग गर्दै उनले २५औँ सत्याग्रहसहित नौदिने आन्दोलन गरेका थिए । उक्त आन्दोलन कात्तिक २१ गते शिक्षामन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित भएको थियो ।

‘सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व हो,’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकारलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्ने छुट छैन ।’

उनले विगतका सहमति कार्यान्वयन गरी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका छन् ।