काठमाडौं । बालश्रमसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा भइरहेको सैद्धान्तिक छलफलमा बालबालिकाको संवैधानिक अधिकार, श्रममा प्रवेश गर्ने न्यूनतम उमेर, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र बालश्रमका सामाजिक तथा आर्थिक कारणलाई सम्बोधन गर्नुपर्ने विषय उठेको छ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले प्रस्तावित विधेयक बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गर्ने गरी तयार गर्नुपर्ने धारणा राखेका छन्।

ADVERTISEMENT

बैठकमा सांसद कृपाराम रानाले विधेयकलाई संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग मेल खाने गरी अघि बढाउनुपर्ने बताए। संविधानको धारा ३९ ले सुनिश्चित गरेका बालबालिकाका मौलिक हकलाई विधेयकले कुनै पनि अवस्थामा कमजोर बनाउन नहुने उनको भनाइ थियो।

ADVERTISEMENT

उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको अधिकार सुनिश्चित गर्न प्रस्तावित कानुनको सैद्धान्तिक र नीतिगत पक्षबाट समीक्षा गर्नुपर्ने बताए।

रानाले संविधानको धारा ३९ को उपधारा २ मा उल्लेख बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार तथा उपधारा ४ मा कलकारखाना, खानी र जोखिमपूर्ण काममा बालबालिकालाई लगाउन नपाइने व्यवस्थालाई विधेयकमा पर्याप्त रूपमा समेटिएको छ कि छैन भन्ने परीक्षण आवश्यक रहेको बताए।

विधेयकको अनुसूचीमा समेटिएका श्रमका स्वरूपमाथि पनि स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो। कामको प्रकृति, परिस्थिति र जोखिमअनुसार बालबालिकालाई काममा लगाउन सकिने वा नसकिने सीमाको स्पष्ट निर्धारण गर्नुपर्ने उनले बताए।

बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को महासन्धि १३८ ले न्यूनतम श्रम उमेर १५ वर्ष निर्धारण गरेको विषय उठाउँदै उनले नेपालको सामाजिक, आर्थिक, भौगोलिक र पारिवारिक परिवेशलाई पनि उमेर निर्धारणसम्बन्धी बहसमा ध्यान दिनुपर्ने बताए।

त्यस्तै, आईएलओ महासन्धि १८२ ले बालश्रमका खराब स्वरूप तत्काल निषेध तथा उन्मूलन गर्नुपर्ने व्यवस्था गरेको भन्दै त्यसलाई पनि विधेयकमा स्पष्ट रूपमा समेट्नुपर्ने धारणा राखे।

बालबालिकालाई श्रममा प्रवेश गराउनेभन्दा उनीहरूको बाल्यकाल, शिक्षा र अधिकार संरक्षणलाई विधेयकको प्राथमिकता बनाउनुपर्ने रानाको जोड थियो।

बालश्रम रोक्न कानुनसँगै गरिबी सम्बोधन गर्नुपर्ने

बैठकमा सांसद सोम शर्माले बालश्रमलाई कानुनी प्रावधान र जरिवानाबाट मात्रै नियन्त्रण गर्न नसकिने भन्दै यसको सामाजिक तथा आर्थिक कारणलाई पनि सम्बोधन गर्नुपर्ने बताए।

उनका अनुसार बालबालिकालाई श्रममा लगाउनुका पछाडि परिवारको आर्थिक अवस्था, संरक्षणविहीनता, शिक्षा र रोजगारीको अभाव तथा बालबालिकाको दुरुपयोगजस्ता कारण हुन सक्छन्। अभिभावकको संरक्षणबाट बाहिर रहेका बालबालिका तथा ग्रामीण क्षेत्रबाट पढाइका लागि भन्दै अन्य व्यक्तिको जिम्मामा पठाइएका बालबालिकाको अवस्थालाई पनि छुट्टाछुट्टै रूपमा अध्ययन गर्नुपर्ने उनले बताए।

ग्रामीण क्षेत्रका कतिपय परिवार आर्थिक अभावका कारण बालबालिकालाई काठमाडौंलगायत सहरमा काम गर्न पठाउन बाध्य हुने अवस्था रहेको उल्लेख गर्दै शर्माले यस्तो बाध्यता अन्त्य गर्न सरकारले परिवारलाई सहयोग र रोजगारीको व्यवस्था गर्नुपर्ने धारणा राखे।

बालबालिकालाई काममा पठाउन नहुने सुझाव दिँदा परिवारले आर्थिक अभावको सामना गरिरहेको अवस्थामा त्यसको विकल्प पनि उपलब्ध गराउनुपर्ने उनको तर्क थियो।

बालश्रम गराउने नियतबाट हुने कामलाई कानुनले रोक्नुपर्ने भए पनि आर्थिक बाध्यतामा परेका परिवारको अवस्था सुधार गर्न रोजगारी, आर्थिक सुरक्षा र सरकारी सहयोग आवश्यक रहेको शर्माले बताए।

उनले सरकारले परिवारलाई विश्वासको वातावरण सिर्जना गर्दै आर्थिक रूपमा कमजोर नागरिकका लागि रोजगारीको व्यवस्था गर्न सके बालबालिकालाई श्रममा पठाउने बाध्यता कम गर्न सकिने सुझाव दिए।

सरकारले ल्याएको बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निश्चित सर्तमा हलुका काममा लगाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। यही व्यवस्थासहित बालश्रमका स्वरूप, काम गर्ने समय, रोजगारदाताको दायित्व र बालबालिकाको संरक्षणसम्बन्धी प्रावधानमाथि समितिमा छलफल भइरहेको छ।