काठमाडौं । बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी सोनी भट्टराई पछिल्लो समय सामाजिक अभियन्ता मात्र होइन, युवा नेतृत्व र राजनीतिक सहभागिताको सशक्त अनुहारका रूपमा स्थापित हुँदै गएकी छन्।
काठमाडौँ महानगरपालिका बालअधिकार समितिकी विज्ञ सदस्यका रूपमा हुँदा सोनी नेतृत्वको टिमले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको घटना त्यतिखेर चर्चाको बिषय रहेको थियो। यसले बालअधिकार संरक्षणमा स्थानीय तहको जिम्मेवारी र सक्रियताको महत्वलाई समेत उजागर गरेको थियो।उनले बालअधिकार उल्लंघनका घटनामा हस्तक्षेप गर्दै संस्थागत सुधारका लागि आवाज उठाउँदै आएकी छन्।
राजनीतिशास्त्र विषयमा अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छन्। राष्ट्रिय युवा परिषद्को सहकार्यमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रममार्फत उनले युवालाई लोकतान्त्रिक अभ्यास, नीति निर्माण प्रक्रिया, संसदको कामकारबाही र नागरिक अधिकारबारे व्यवहारिक ज्ञान प्रदान गर्दै आएकी छन्। यस कार्यक्रमलाई युवा नेतृत्व विकासको प्रभावकारी अभ्यासका रूपमा हेरिएको छ।
भट्टराई बालअधिकारका लागि राष्ट्रिय अभियानसँग आबद्ध रहँदै नीति निर्माण तहमा बालमैत्री दृष्टिकोण स्थापित गर्न निरन्तर पहल गरिरहेकी छन्। उनका गतिविधिले बालअधिकार र युवाको सहभागितालाई एउटै धारमा जोडेको देखिन्छ।
आगामी फाल्गुण २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा-१ को उम्मेदवारका रूपमा मैदानमा उत्रिदैछिन। जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उनले नागरिक अधिकार, बालअधिकार र युवाको राजनीतिक सहभागितालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएकी छन् । उनले समावेशी, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासको पक्षमा स्पष्ट धारणा राख्दै आएकी छन् ।
गोरखा नारेश्वर घर भएकी भट्टराईलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिका रूपमा पनि चिनिन्छ। पार्टीभित्रको स्रोतका अनुसार उनलाई गोरखा–१ बाट उम्मेदवार बनाउने निर्णयमा बालेनको सिफारिस रहेको बताइन्छ।
बालअधिकार र युवा नेतृत्व विकासलाई सँगसँगै अघि बढाइरहेकी सोनी भट्टराईलाई धेरैले नयाँ पुस्ताको आशा र सम्भावनाको प्रतिनिधि पात्रका रूपमा लिन सकिन्छ। सामाजिक अभियन्ताबाट राजनीतिक यात्रासम्मको उनको निरन्तरताले रास्वपामा नयाँ सोच र पुस्तागत परिवर्तनको प्रयास गरेको देख्न सकिन्छ।





