काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि पक्राउ पर्ने भएकी छन् । बंगलादेश सरकारले विदेशमा रहेका आफ्ना सबै ८४ वटा कूटनीतिक नियोगलाई देशकै भूभाग मानिने भन्दै हसिना त्यहाँ पुगे पनि पक्राउ गरिने चेतावनी दिएको हो ।

‘द डेली स्टार’का अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै विदेश मामिलासम्बन्धी राज्यमन्त्री–२ शमा ओबेद इस्लामले हसिना जहाँ पुगे पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।

ADVERTISEMENT

उनले मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेकी हसिनामाथि अन्य फरार दोषीसरह कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारिन् । स्वदेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान पनि उनले दोहोर्‍याइन् ।

ADVERTISEMENT

यो चेतावनी हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने इच्छा व्यक्त गरेको खबर सार्वजनिक भइरहेका बेला आएको हो । उनले भारतको नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत स्वदेश फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन बंगलादेश सरकारसँग आग्रह गरेको समाचारमा उल्लेख छ ।

तर, राज्यमन्त्री इस्लामले हसिनालाई स्वदेश फर्काउन सरकारले कुनै तयारी नगरेको बताइन् । उनलाई ल्याउन विमान, हेलिकोप्टर, बस वा अन्य सवारीसाधन पठाउने विषयमा समेत सरकारभित्र छलफल नभएको उनको भनाइ छ ।

‘डिसेम्बर १६ वा १७ मा फर्किने भन्ने राजनीतिक प्रचारको कुनै अर्थ छैन । उनी आउन सक्छिन्, तर आएमा पक्राउ गरी जेल पठाइनेछ,’ उनले भनिन् ।

बंगलादेश सरकारले विदेशमा रहेका दोषी व्यक्तिलाई स्वदेश फर्काउन कूटनीतिक माध्यम र विद्यमान सुपुर्दगी सन्धिअनुसार पहल गरिरहेको जनाएको छ । यस विषयमा भारत सरकारसँग निरन्तर संवाद भइरहेको पनि राज्यमन्त्रीले बताइन् ।

यसैबीच, उनले अवामी लिगका नेता तथा कार्यकर्तामाथि देशमा अशान्ति सिर्जना गर्ने गतिविधि गरेको आरोप लगाइन् । मानवताविरुद्धका अपराधमा दोषी ठहर भएका व्यक्तिलाई राहदानी वा राष्ट्रिय परिचयपत्र जारी गर्न सरकार बाध्य नरहेको उनको भनाइ थियो ।

यसअघि विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले पनि विदेशी कूटनीतिज्ञलाई हसिना स्वदेश फर्किए पक्राउ गरिने जानकारी दिएका थिए । हसिनाले फर्किने इच्छा व्यक्त गरेको खबर सार्वजनिक भएपछि बंगलादेशको सीमा सुरक्षा बल (बीजीबी) ले भारतसँगको सीमाक्षेत्रमा गस्ती बढाएको समाचारमा उल्लेख छ ।

सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलन चर्किएपछि अगस्ट ५ मा बंगलादेश छाडेकी हसिना त्यसयता भारतको नयाँदिल्लीमा बस्दै आएकी छन् । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेको दिनको सम्झनामा बंगलादेशले हरेक वर्ष डिसेम्बर १६ मा विजय दिवस मनाउँदै आएको छ ।