काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।
बंगलादेशका सञ्चारमाध्यमका अनुसार पछिल्ला दिनमा देशका २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन् । विभिन्न स्थानमा सवारीसाधनमा आगजनीसमेत गरिएको छ । हिंसाका क्रममा मानवीय क्षति भएको छ भने राजधानी ढाकामा पनि विस्फोट र झडपका घटना भएका छन् ।
पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा नोबेल पुरस्कार विजेता तथा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ । चटगाउँस्थित युनुसको पैतृक घरमा समेत अज्ञात समूहले आगजनी गरेको समाचार सार्वजनिक भएको छ ।
त्यस्तै, ढाकामा अवामी लिगका दुई नेताको घरमा बीएनपीका कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ ।
२८ जिल्लामा बम विस्फोट, हिंसामा मानवीय क्षति
बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा बम विस्फोटका घटना भएका छन् । राजधानी ढाकामा भएका हिंसात्मक घटनामा कम्तीमा चार जना घाइते भएको समाचारमा उल्लेख छ ।
पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्यालीमाथि आक्रमण गर्दा दुई स्थानीय नेताको मृत्यु भएको समाचार छ । त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
हसिनाको स्वदेश फिर्ती घोषणाले बढायो राजनीतिक तनाव
अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्ड सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् । यसै महिनाको सुरुवातमा उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन् । त्यसयता राजनीतिक तनाव थप बढेको छ ।
मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं मानिसले प्रहरी चौकी घेराउ गरेका थिए । प्रदर्शनकारीको घेराउपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो ।
यसैबीच, प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।
मंगलबार राति संसद्मा सम्बोधन गर्दै उनले सन् २०२४ को आन्दोलनको भावनाअनुसार फेरि एकजुट भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताएका थिए । द डेली स्टारका अनुसार उनले सरकारी संयन्त्रमा मात्र निर्भर नभई सांसदहरूलाई सडकमा समेत सक्रिय हुन आग्रह गरेका छन् ।
सुरक्षा व्यवस्था कडा, पक्राउ अभियान तीव्र
बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा सीमा सुरक्षा बल (बोर्डर गार्ड बंगलादेश) का हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीले ढाकामा अवामी लिगसँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान चलाएको छ । पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेको समाचारमा उल्लेख छ ।
गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताएका छन् ।
सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । त्यस अवधिमा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा समेत तोडफोड र विध्वंसका घटना भएका थिए ।
हसिनाको सम्भावित स्वदेश फिर्ती, अवामी लिगमाथिको प्रतिबन्ध र राजनीतिक दलहरूबीचको बढ्दो टकरावले बंगलादेशको राजनीतिक अस्थिरता थप गहिरिने संकेत गरेको छ ।












