काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गरेकी छन् । उनले भारतको राजधानी नयाँदिल्लीबाट ढाका फर्किन राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्सको व्यवस्था मिलाइदिन बंगलादेश सरकारसँग आग्रह गरेकी छन् ।

रोयटर्सका अनुसार हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार यसबारे जानकारी दिएका हुन् । हसिनाले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको स्मरणमा मनाइने विजय दिवसकै दिन स्वदेश फर्किने योजना बनाएको उनले बताएका छन् ।

ADVERTISEMENT

अलीका अनुसार सन् २०२४ अगस्ट ५ मा बंगलादेशकै विमानमार्फत हसिनालाई भारत ल्याइएको थियो । त्यसैले अहिले दिल्लीबाट ढाका फर्किन पनि सरकारले राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले हसिनालाई संविधानविपरीत परिस्थितिमा देश छाड्न बाध्य पारिएको दाबी गर्दै स्वदेश फर्कने वातावरण बनाउनु सरकारको जिम्मेवारी भएको बताएका छन् ।

ADVERTISEMENT

तर हसिनाको स्वदेश फिर्ती सहज देखिँदैन । बंगलादेश सरकारले भने भारतबाट सुपुर्दगी प्रक्रियामार्फत मात्रै उनी फर्कन सक्ने बताएको छ । स्वदेश फर्किए उनलाई पक्राउ गरी जेल पठाइने सरकारी पक्षको भनाइ छ ।

सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसयता उनी भारतमा बस्दै आएकी छन् । गत वर्ष बंगलादेशको अदालतले आन्दोलन दमनका क्रममा भएको हिंसासम्बन्धी मुद्दामा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन् ।

यसैबीच, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले सोमबार विद्यार्थी आन्दोलनबाट उदाएको नेसनल सिटिजन पार्टी (एनसीपी) का नेताहरूसँग भेटवार्ता गरेका छन् ।

ढाकास्थित क्याबिनेट डिभिजन सचिवालयमा भएको भेटमा एनसीपीका संयोजक नाहिद इस्लाम नेतृत्वको चार सदस्यीय टोली सहभागी थियो । टोलीमा सदस्यसचिव अख्तर हुसेन, वरिष्ठ संयुक्त संयोजक हसनत अब्दुल्लाह र संयुक्त संयोजक अक्रम हुसेन थिए ।

बंगलादेशको सरकारी समाचार संस्था बीएसएसका अनुसार प्रधानमन्त्रीका अतिरिक्त प्रेस सचिव अतिकुर रहमान रुमोनले भेटवार्ता करिब ४० मिनेट चलेको जानकारी दिएका छन् ।

भेटपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता महदी अमिनले देशमा अस्थिरता सिर्जना गर्ने गतिविधि भइरहेका बेला लोकतान्त्रिक तथा अधिनायकवादविरोधी राजनीतिक शक्तिबीच एकता आवश्यक रहेको बताएका थिए ।

एनसीपी संयोजक नाहिद इस्लामले भने राजनीतिक संवादलाई छलफलमा मात्र सीमित नराखी परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले सरकारले संवादबाट ठोस नतिजा निकाल्न के कदम चाल्छ भन्ने विषय महत्वपूर्ण हुने बताएका छन् ।

यसरी हसिनाको सम्भावित स्वदेश फिर्तीले बंगलादेशमा राजनीतिक र कानुनी तनाव थप बढाउन सक्ने देखिएको छ ।