कृत्रिम बौद्धिकता (एआई) को प्रयोग अपराधी समूहमा तीव्र रूपमा बढेको एक अध्ययनले देखाएको छ। विशेषगरी अनलाइन ठगी गर्ने समूहले एआईलाई सबैभन्दा व्यापक रूपमा प्रयोग गरिरहेको अध्ययनको निष्कर्ष छ।

ब्लकचेन अनुसन्धान तथा वित्तीय अपराध विश्लेषण गर्ने संस्था टीआरएम ल्याब्सको प्रतिवेदनअनुसार सन् २०२४ मा २८ अंकमा रहेको अपराधमा एआई प्रयोगको सूचकांक सन् २०२६ मा बढेर ५४ पुगेको छ। प्रतिवेदनले यसलाई अपराधमा एआईको प्रयोग विस्तार भइरहेको संकेतका रूपमा व्याख्या गरेको छ।

ADVERTISEMENT

अध्ययनले ठगी, ह्याकिङ तथा राज्य प्रायोजित चोरी, र्‍यान्समवेयर र लागुऔषध तथा डार्कनेट बजारमा एआईको प्रयोगलाई छुट्टाछुट्टै विश्लेषण गरेको छ। तीमध्ये ठगीमा एआईको प्रयोग सबैभन्दा विकसित अवस्थामा पुगेको छ।

ADVERTISEMENT

अपराधीले एआई प्रयोग गरेर नक्कली पहिचान, फोटो, आवाज र भिडियो तयार गर्ने गरेका छन्। यसले परिचित व्यक्ति, सरकारी अधिकारी वा वित्तीय संस्थाको प्रतिनिधि बनेर अरूलाई झुक्याउन सहज बनाएको छ। एआई च्याटबटमार्फत एकै व्यक्तिले एकै समयमा धेरै पीडितसँग फरक–फरक भाषामा संवाद गर्न सक्ने अवस्था बनेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार सन् २०२२ देखि २०२५ सम्म एआई प्रयोग भएको ठगीसम्बन्धी उजुरीको संख्या करिब १३ गुणाले बढेको छ। सन् २०२६ मा डीपफेकमार्फत भएका ठगीबाट रिपोर्ट गरिएका आर्थिक क्षति सन् २०२५ को पूरै वर्षको तुलनामा २६३ प्रतिशत बढी पुगेको छ।

त्यस्तै, क्रिप्टोकरेन्सी चोरी तथा ह्याकिङमा पनि एआईको प्रयोग बढिरहेको छ। सन् २०२६ को पहिलो छ महिनामा २०१ वटा क्रिप्टो ह्याकका घटना रेकर्ड भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ८३ घटनाभन्दा दोब्बरभन्दा बढी हो।

प्रतिवेदनले उत्तर कोरियासँग सम्बन्धित समूहहरूले नक्कली पहिचान र डीपफेक भिडियो अन्तर्वार्ताको प्रयोग गरेर विभिन्न कम्पनीमा सूचना प्रविधिसम्बन्धी रोजगारी हासिल गर्ने र पछि ती संस्थामा आक्रमण गर्ने जोखिम औँल्याएको छ।

र्‍यान्समवेयर आक्रमणमा पनि एआईको प्रयोग विस्तार हुँदै गएको छ। कम प्राविधिक ज्ञान भएका व्यक्तिले समेत तयार पारिएका टुल प्रयोग गरेर आक्रमण गर्न सक्ने अवस्था बनेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, एआईले सबै अपराध आफैँ सञ्चालन गर्ने अवस्था अझै सामान्य भइसकेको छैन।

अर्कोतर्फ, अपराध नियन्त्रणमा पनि एआई उपयोगी बन्दै गएको प्रतिवेदनले देखाएको छ। अनुसन्धानकर्ताले एआई प्रयोग गरेर शंकास्पद डिजिटल वालेट पहिचान गर्ने, विभिन्न ब्लकचेनमा रकमको कारोबार पछ्याउने र नक्कली पहिचान पत्ता लगाउने काम छिटो गर्न सक्ने भएका छन्।

प्रतिवेदनले एआईले अपराधको स्वरूप पूर्ण रूपमा नयाँ बनाएको भन्दा पनि पुरानै अपराधलाई कम लागतमा, छिटो र ठूलो संख्यामा सञ्चालन गर्न सम्भव बनाएको निष्कर्ष निकालेको छ। त्यसैले अपराधीले एआई प्रयोग गर्ने गति र क्षमतासँगै अनुसन्धान तथा सुरक्षा प्रणालीको क्षमता पनि विस्तार गर्नुपर्ने चुनौती देखिएको छ।